ad

झापामा जेठ १६ गते देखि पोलियोविरुद्धको खोप अभियान संचालन हुने

image समाचारदाता सोमबार, जेष्ठ १४ २०८१
image
A+ A A-

चिन्तामणि दाहाल,भद्रपुर, १४ जेठ । झापामा जेठ १६ गते देखि जेठ २२ गते सम्म पोलियोविरुद्धको खोप अभियान संचालन हुने भएको छ ।

झापाको स्वास्थ्य  कार्यालयले जेठ १६ गतेदेखि जेठ २२ गतेसम्म जिल्लाका १५ वटै पालिकाहरुमा अभियानका रुपमा पोलियोविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिनेसन आइपिभि खोप संचालन गर्ने जनाएको हो । यो खोप भरपर्दो, प्रभावकारी र सुरक्षित पनि रहेको जनाइएको छ ।  

जिल्ला स्वास्थ्य कार्यालय झापाले भद्रपुरमा आयोजना गरेको पत्रकाहरुसँगको एक दिने अभिमुखीकरण गोष्ठिमा खोप अधिकृत राजकुमार पोखरेलले यस अभियानमा २०७३ साल बैशाखदेखि २०७५ साल असोज महिना भित्रमा जन्मेका बालबालिकालाई लक्षित गरिने जनाउनु भयो । 
 

उहाँले त्यो अवधिमा जन्मेका बालबालिकाहरुलाई खोप अभावका कारण यो आइपिभि खोप दिन छुटेकोले उनीहरुलाई पोलियो रोगबाट बचाउन र पोलियो रोग फैलन नदिन यो अभियान संचालन गर्न लागिएको बताउनु भयो । 
 

त्यस्ता बालबालिकाहरु झापामा ४५ हजार ६ सय ४८ रहेको तथ्यांक भएपनि विद्यालयहरुले भने ५८ हजार ३ सय २६ बालबालिका रहेका तथ्यांक दिएका छन् ।  त्यसका लागि जिल्लाभरका सामुदायिक र निजी गरी सबै ८ सय ३६ विद्यालयहरुलाई खोप केन्द्र  बनाइएको  छ । यो मिति अघि र यो मिति पछि जन्मेका बालबालिकालाई भने यो खोप दिइसकेकोले उनीहरुलाई यस अभियानमा नसमेटिएको  जन स्वास्थ्य अधिकृत प्रकाश पाठकले जनाउनु भयो । 
 

यो खोप विद्यालयमै गएर विद्यार्थीहरुलाई दिने भएकोले अहिलेलाई विद्यालयहरुले दिएको तथ्यांकलाई नै लक्ष्य बनाइएको जनाउँदै स्वास्थ्य कार्यालय झापाले विद्यालयमा नजाने केही भएमा पालिकाहरुका स्वास्थ्य केन्द्रहरुको समन्वयमा घर–घरमा गएर पनि खोजपडताल गरी खोप दिएर लक्ष्य हासिल गर्ने दाबी गरेको छ । 
नेपाल भर भने खोप दिन छुटेका बालबालिकाको संख्या १४ लाख ६२ हजार ७ सय १२ रहेको जनाइएको छ । पोलियो घातक रोग भएको र सरुवा रोग पनि भएकोले यसलाई देशबाट उन्मुलन गर्न अहिले संचालन गर्न लागिएको खोप अभियान महत्वपूर्ण रहेकोले सबै अभिभावक र विद्यालयहरुलाई यस अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालयले आग्रह पनि गरेको छ ।  अभिमुखीकरणको सहजीकरण नर्सिङ अधिकृत सुनिता राईले गर्नुभएको थियो ।