ad

सत्ताका नयाँ सौदागरको चकचक

image समाचारदाता सोमबार, जेष्ठ २१ २०८१
image
A+ A A-

रविका दुइटा अनुहार छन् । पहिलो, यी विवादास्पद छवि भएका नवोदित राजनीतिकर्मी हुन्, जो चर्चित सहकारी ठगी प्रकरणका एक आरोपित हुन् । नागरिकता दुरुपयोगको मुद्दामा न्यायालयबाट दण्डित भइसकेका उनी एकैपटक दुई देशको राहदानी प्रयोगको फौजदारी आरोप खेपिरहेका अभियुक्त पनि हुन् । दोस्रो, विवादित पात्र हुनुका बावजुद यी मतदाताको रोजाइमा परेका ‘पपुलर’ राजनीतिकर्मी पनि हुन् । जो राजनीतिमा केही फरक छाप छोड्ने हुटहुटी राख्छन् । सायद त्यही हुटहुटी देखेर मतदाताले एक पटकमात्रै होइन, वर्ष दिनकै अन्तरालमा दुई पटक भारी मतान्तरले निर्वाचन जिताए ।

रवि यी परस्पर विरोधी दुई अनुहारसहित नेपाली राजनीतिको दोबाटोमा खडा छन् । एकातिर निर्वाचनबाट भारी लोकप्रिय मतान्तरले जनअनुमोदित भएको छवि छ । पार्टी स्थापना गरेको आगामी असार ७ गते दुई वर्ष पुग्दै छ । यो छोटो अवधिमा पार्टीलाई संसद्को चौथो ठूलो राजनीतिक शक्ति बनाउन सक्नु चानचुने उपलब्धि होइन । सत्ता गठबन्धनमा निर्णायक हैसियतमा रहने उनीसित सुविधा छ । राजनीतिमा वर्षौं त्याग र संघर्ष गरेका पात्रहरूले नपाएको अवसर उनले पाएका छन् । दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री बनेका उनी छोटो राजनीतिक करिअरमा यस्तो दुर्लभ अवसर पाउने सम्भवतः पहिलो नेपाली नेता हुन् ।

अर्को पाटोबाट हेर्दा, उनी विवादै विवादले घेरिएका छन् । उनीमाथि सामाजिक, कानुनी र नैतिक प्रश्न खडा छन् । राज्यलाई गुमराहमा पारेर अवैध नागरिकताको आडमा दल खोलेको, निर्वाचन लडेको, सांसद/मन्त्री भएको पुष्टि भएपछि एक पटक उनले ती सबै पद गुमाए । न्यायालयले अवैध नागरिकताको मुद्दामा उनलाई दण्डित गरेपछि सांसद, मन्त्री, पार्टी सभापति पदबाट बर्खास्त भए । प्रक्रिया पूरा गरेर नागरिकता प्राप्ति गरेपछि पुनः राजनीतिमा बहाल भए । पार्टी सभापति पदमा फर्किए । उपनिर्वाचनमार्फत फेरि भारी मतान्तरले विजयी भएर संसद् फर्किए । अहिले दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री छन्, तर विवादमुक्त छैनन् । एकै समय दुई देशको राहदानी प्रयोग गरेको फौजदारी कसुर त उनीमाथि लागेकै थियो, त्यसमाथि सहकारी ठगी प्रकरणमा पनि मुछिएका छन् ।