समाचारदाता
सोमबार, जेष्ठ १४ २०८१
भद्रपुर,१४ जेठ ।झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस र भद्रपुर क्रिकेट क्लवबीच क्याम्पसमा रहेको खेल मैदानलाइ क्रिकेट स्टेडियमको रुपमा विकास गरी क्रिकेट खेल, प्रशिक्षण र राष्टिय तथा अन्तराष्टिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उदेश्यका लागि एक संझौता भएको छ ।
क्याम्पसको सभाकक्षमा आइतवार आयोजित एक कार्यक्रमका वीच क्लव र क्याम्पस बीच १९ बुँदे सम्झौता भएको हो । सम्झौतामा क्रिकेट क्लबको तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।
क्याम्पसका तर्फबाट सम्झौताको रोहवरमा क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. पृथ्वीविक्रम राइ, विध्यार्थी कल्याण प्रमुख डम्मरप्रसाद रेग्मी, स्ववियू सभापति सन्देश धमलाले र क्लबका तर्फबाट वडाध्यक्ष गौरव सुव्वा मनोज,सल्लाहकार दिपेश ढकाल, उपाध्यक्षद्धय नितेश वर्मा र मनोज श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता पत्रमा सो खेल मैदान २५ वर्षको लीजमा क्लवलाइ दिने र क्लबले मैदान प्रयोग गरे वापत क्याम्पसलाइ वार्षिक ५० हजारका अतिरिक्त प्रतियोगिता भएका वखत विध्यार्थी, शिक्षक र कर्मचारीले प्रवेशमा छुट पाउने, क्याम्पसले आफुलाइ आवश्यक पर्दा मैदानको नि:शुल्क प्रयोग गर्न पाउने, हरेक ५ वर्षमा भाडा पुनरावलोकन र लिज नवीकरण गर्नुपर्ने लगायत रहेका छन ।
यस सम्झौतालाइ क्लवका सल्लाहकार छत्र अधिकारी,भद्रपुर नगरप्रमुख गणेश पोखरेललगायतले ऐतिहासिक भन्दै सम्झौता पालनामा दुवै पक्षले ध्यानदिनुपर्ने सुझाव दिएका थिए ।