समाचारदाता
सोमबार, जेष्ठ २१ २०८१
विश्वमा चीनको शान्तिपूर्ण उदय हुनुमा चिनियाँ सफ्टपावर नीति पनि एक हो । अहिलेसम्म हेर्दा चीनको उदय अन्तर्राष्ट्रिय प्रणालीभित्रै रहेर नै भएको हो जसलाई 'स्टेट स्याचुरेशन' भन्निछ । यो अरु जस्तो यद्धबाट आएको होईन । त्यसैले पनि यसलाई 'पिसफुल राइज' भनिएको हो । तर उदय आफैंमा शान्तिपूर्ण हुन्छ कि हुन्न अर्को बहसको विषय हो । तथापी, बिना युद्व अन्तर्राष्ट्रियस्तरमा विकासको हरेक आयाममा अगाडी आउनु आफैंमा सफ्ट पावर हो ।
अमेरिकाका प्रोफेसर जोसेफ एस. न्येले सफ्टपावरको अवधारणालाई अगाडि सारेका हुन् । उनको विचारमा सफ्टपावर भनेको जबर्जस्ती नगरी अरुको व्यवहारलाई प्रभाव पार्ने क्षमता हो । उनले पावरलाई हार्डपावर, सफ्टपावर र स्मार्टपावरमा वर्गीकरण गरेता पनि यसको अभ्यास भने चीनमा पहिले देखि नै हुँदैन आएको पाइन्छ ।
चीनले कन्फ्यूसियस इन्स्टिटयूटका माध्यमबाट भाषा तथा संस्कृतिको प्रवर्धन गरिरहेको छ । सर्वप्रथम, सन् २००४ मा दक्षिण कोरियामा कन्फ्यूसियस इन्स्टिटयूटको स्थापना भएयता संसारैभरि करिब पाँचसय भन्दा बढी यस्ता इन्स्टिटयूटहरु स्थापना भएका छन् । कन्फ्यूसियस मान्यताले नैतिक मूल्य मान्यता, आपसी सम्मान र भाइचारालाई अभिवृद्वि गर्ने कुरामा जोड दिन्छ । चीनको वैदेशिक नीतिमा पनि यो मूल्यमान्यताको प्रभाव देख्न सकिन्छ । तर, पश्चिमा चिन्तक म्याक्सवेबरले चीनमा कन्फ्यूसियसवादले गर्दा पूँजीवादको विकास हुन नसकेको धारणा व्यक्त गरेको थिए जुन आफैंमा पर्याप्त अध्ययन नगरी निष्कर्षमा पुगेको धेरैको अनुमान छ ।