समाचारदाता
सोमबार, जेष्ठ २१ २०८१
प्रधानमन्त्रीका रूपमा टेन डाउनिङ स्ट्रिट छिरेको १९ महिनापछि उनले नयाँ निर्वाचन घोषणा गरेका हुन् । सुनक २५ अक्टोबर २०२२ मा लिज ट्रसको उत्तराधिकारीका रूपमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बनेको करिब तीन महिनापछि सुनकले मतदाताहरूसमक्ष पाँच वाचा गरेका थिए । आर्थिक वृद्धि, मुद्रास्फीति घटाउने, ऋण घटाउने, नेसनल हेल्थ सर्भिस (एनएचएस) मा कुर्नुपर्ने समय घटाउने र साना डुंगामा इंग्लिस च्यानल पार गरेर आउने गैरकानुनी आप्रवासी रोक्ने उनका वाचा थिए ।
अफिस फर नेसनल स्ट्याटिटिक्सको नयाँ तथ्यांकले देशमा मुद्रास्फीति २.३ प्रतिशतमा झरेको देखाएको भोलिपल्टै सुनकले निर्वाचन घोषणा गरेका हुन् । प्रधानमन्त्री सुनक यही मुद्दालाई मुख्य उपलब्धिका रूपमा लिएर मतदातासमक्ष जान लागेको कतिपय विश्लेषकहरू बताउँछन् । सुनकले बेलायती अर्थतन्त्र वृद्धिदर अति विकसित राष्ट्रहरू जी–७ को हाराहारीमा पुगेको पनि दाबी गरेका छन् । चुनाव घोषणाका क्रममा सुनकले विगत पाँच वर्षमा ब्रिटेनले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा चुनौतीपूर्ण परिस्थिति सामना गरेको र आफूलाई बेलायती भएकोमा गर्व लागेको बताए । उनले बेलायतको अर्थतन्त्र अझै बढ्दै गएको, मुद्रास्फीति सामान्य अवस्थामा फर्किएको, ब्याजदर घटेको र सरकारी योजनाले काम गरिरहेको बताए । यद्यपि, उनले हाल धेरै मानिसका लागि अवस्था सजिलो नरहेको भने स्वीकार गरेका छन् ।