समाचारदाता
मङ्गलबार, जेष्ठ १५ २०८१
शुक्रबार सिंहदरबारमा बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दल बैठकमा सत्ताघटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलहरूको बैठकका लागि बूढानीलकण्ठ गएको विषय उठ्यो।
पार्टीका नेता मेटमणि चौधरीलाई लिएर अध्यक्ष नेपाल बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बुधबार अपराह्न ५ बजे भएको विपक्षी दलका नेताहरू सहभागी बैठकमा सहभागी भएका थिए।
सत्ताघटक एकीकृत समाजवादी अध्यक्ष नेपाल विपक्षी दलहरूको छलफलमा सहभागी भएको विषय शुक्रबारको माओवादी संसदीय दल बैठकमा पनि छलफलको विषय बनेको थियो।
सांसदहरूले सत्ताघटक दलका अध्यक्ष नै विपक्षी दलहरूको छलफलमा गएको सुनिएकोले गठबन्धनभित्र केही हुन लागेको हो? भन्ने प्रश्न संसदीय दल नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई सोधेका थिए।
प्रधानमन्त्री दाहालले सत्ता समीकरण तलमाथि नहुने जबाफ दिए। अध्यक्ष नेपाल आफूसँग सल्लाह गरेर नै बूढानीलकण्ठ गएको दाबी प्रधानमन्त्री दाहालको थियो।
‘सत्ता समीकरणमा भएका दल पनि प्रतिपक्षी दलको बैठकमा गएको भन्ने सुनियो, यो कुरा के हो भनेर सांसदहरूले जिज्ञासा राख्नुभएको थियो,’ संसदीय दल बैठकपछि मुख्य सचेतक हितराज पाण्डेले भने, ‘प्रधानमन्त्रीज्यूले बडो रमाइलो ढंगले भन्नुभयो- यो समीकरणको नेतृत्व गरिरहेको म आफैँ बूढानीलकण्ठ गएको तपाईंहरूले थाहा पाउनु भएन र? यसकारण कोही कतै जाँदा हाम्रो समीकरणमा अहिले केही हुँदैन। तपाईंहरू ढुक्कका साथ अघि बढ्नुहोला।’
प्रधानमन्त्री दाहाल गत जेठ १३ गते बूढानीलकण्ठस्थित कांग्रेस सभापति देउवा निवास पुगेका थिए। कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरिरहेका बेला सहमति खोज्न प्रधानमन्त्री दाहाल बूढानीलकण्ठ पुगेका थिए।
साथै प्रधानमन्त्री दाहालले सल्लाह गरेरै एकीकृत समाजवादी अध्यक्ष नेपाल बूढानिलकण्ठ गएको दाबी गरे।
‘राजनीतिक तहमा कहीँ कुरा गर्न जानुपर्यो भने एक आपसमा सल्लाह गरेर नै जान्छौं, त्यसकारण समीकरणमा कहीँ त्यस्तो असजिलो आउने हो कि भन्ने आशंका छ, त्यो आशंका गर्नुपर्दैन,’ प्रधानमन्त्री दाहालको भनाइ थियो, ‘माधव नेपाल पनि सल्लाह गरेर जानुभएको हो।’