ad

चिम्खोले काइँलाको ‘लन्डन घुमौंला’

image समाचारदाता सोमबार, जेष्ठ २१ २०८१
image
A+ A A-

काठमाडौँ — साहित्यकार चिम्खोले काइँला (दूत पुन) ले नयाँ गीतिसंग्रह ‘लन्डन घुमौंला’ सार्वजनिक गरेका छन् । काठमाडौंको तमु बौद्ध सेवा समितिको सभाहलमा आइतबार आयोजित एक समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, पूर्वराष्ट्रिय पञ्चायत सदस्य बमकुमारी बुढामगर, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापालगायतले गीतिसंग्रह लोकार्पण गरेका हुन् ।

बेलायतमा रहेर लामो समयदेखि साहित्य र समाजसेवामा सक्रिय काइँलाको ‘लन्डन घुमौंला’ १२ औं कृति हो । सरगम प्रकाशनले बजारमा ल्याएको कृतिमा विविध विषय र बान्कीका ७३ सिर्जना छन् ।

म्याग्दीको चिम्खोलामा जन्मिएका काइँलाका यसअघि सुनदन्ते (कवितासंग्रह), लन्डनको कोसेली (गीतिएल्बम), यूकेको जिन्दगी (कवितासंग्रह), यूकेतिर जाउली (दोहोरी गीतिएल्बम), मेजर पेन्सन खाउली, अर्ली भाइ (कथासंग्रह), बेस्ट अफ चिम्खोले काइँला (गीतिभिडियो एल्बम), मगर संघ यूके : इतिहासदेखि वर्तमानसम्म, आधा यात्रा (हस्त–नेत्र स्मृतिग्रन्थ सम्पादन), गोलार्द्धलाई चक्कर मार्दा (नियात्रासंग्रह) र लोसोगोठदेखि बकिंघम प्यालेससम्म प्रकाशित छन् ।