ad

श्रमाधान मेलामा रोजगारदाता र श्रमिकको घुइँचो

image समाचारदाता सोमबार, जेष्ठ २१ २०८१
image
A+ A A-

जनकपुर — जनकपुरमा पहिलो पटक आयोजना गरिएको श्रमाधान मेलामा रोजगारदाता र श्रमिकको घुइँचो देखिएको छ । रोजगार र श्रमिकसँग जोडिएका ३५ वटा स्टल शनिबार भरिभराउ भए । जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थालगायत ३५ भन्दा बढी स्टल राखिएको छ । 

मन्त्री अर्यालले मधेशमा रोजगारी क्षेत्रमा समस्या रहेको र मधेशबाट ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा जान बाध्य रहेको बताए । ‘श्रमाधान मेला त्यही समस्याको उपाय खोज्नका लागि आयोजना गरिएको हो,’ उनले भने, ‘स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या छन् । एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरु गरिएको हो ।’ सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए । उनका अनुसार नेपालबाट भारत जाने श्रमिकको तथ्यांक संकलनको काम पनि सुरु गरिएको छ ।

मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री वेची लुंगेलीले मेलाले श्रमक्षेत्रका समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । मेलाबाट बढीभन्दा बढी मधेश प्रदेशका युवाले लाभ लिने प्रदेश मन्त्री लुंगेलीको विश्वास छ । ‘मधेशमा बेरोजगारी समस्या व्यापक छ । यहाँबाट विदेश पलायन हुनेको संख्या धेरै छ,’ उनले भनिन् । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मेलाले श्रम बजारको मागअनुसार श्रमशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । नेपाली रोजगार क्षेत्रलाई सुरक्षित व्यवस्थित र श्रमिक तथा उद्योगमैत्री बनाउँदै लगिने पनि उनको थियो ।

यस्तै, मन्त्री अर्यालसँग जनकपुरका उद्योगी–व्यवसायीले भेट गर्दै यस क्षेत्रमा उद्योग–व्यापार क्षेत्रमा देखिएको श्रमिक समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । मधेशमा उद्योग थपिने क्रम जारी रहे पनि धेरैजसो उद्योगमा अहिले पनि भारतीय मजदुरकै वर्चस्व रहेको भन्दै जनकपुरका उद्योगी–व्यवसायीले नेपालको उद्योगमा नेपाली श्रमिकलाई खपत गर्ने वातावरण सरकारले बनाउनुपर्ने माग गरे ।