ad

लुम्बिनी बौद्ध विश्वविद्यालयमा मौलाउँदो बेथिति

image समाचारदाता सोमबार, जेष्ठ २१ २०८१
image
A+ A A-

आचार्यको रजिष्ट्रारको दोस्रो कार्यकाल गत फागुन ३० गते सकिएको थियो । नियमावलीअनुसार निमित्त रजिष्ट्रारको जिम्मेवारी डिनले पाउनुपर्ने हो । तर आचार्यको अवधि सकिनु केही समयअघि नियम संशोधन गरियो । नियमावली संशोधन गरेर उपकुलपतिले विश्वविद्यालयमा कार्यरत जुनसुकै प्राध्यापकलाई तीन महिनाका लागि निमित्त जिम्मेवारी दिन सक्ने बनाइयो । त्रिभुवन विश्वविद्यालयलगायत अधिकांश विश्वविद्यालयमा रजिष्ट्रार पद रिक्त रहे डिन मध्येबाट निमित्तको जिम्मेवारी दिन सकिने व्यवस्था छ । तर लुम्बिनी बौद्ध विश्वविद्यालयमा भने कार्यकाल सकिएका रजिष्ट्रारलाई नै निमित्तको जिम्मेवारी दिने गरी संशोधन गरियो । आचार्य तेस्रो पटक रजिष्ट्रार बन्न नियमावली चलखेल गरी संशोधन गरिएको प्राध्यापकहरुले बताए ।

नियमावलीअनुसार उपकुलपतिले निमित्त तोक्ने सम्बन्धी प्रावधान संशोधनबारे विश्वविद्यालयका सभासदलाई अग्रिम जानकारी दिनुपर्नेमा गुपचुप गत फागुन १९ गते बसेको विश्वविद्यालयको १५ औं सिनेटसभा बैठकबाट पास गराएको पाइएको छ । उक्त सभाका एक सहभागीले सभासदले नियमावलीको उक्त व्यवस्था संशोधनका लागि छलफल नगरिएको बताए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले उक्त प्रस्ताव सभामा लगेर संशोधन पारित गराएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित सभा एजेन्डाभन्दा नयाँ निर्माण गरिएका भवन उद्घाटनमा केन्द्रित थियो । त्यस्तो बेला सभामा एजेण्डामाथि ब्यापक छलफल सम्भव नभएको सहभागीले बताए । ‘थपडी बजाएर आधा घण्टामै सकियो,’ सभामा सहभागी एक सदस्य प्राध्यापकले भने, ‘निमित्त सम्बन्धी एजेण्डाबारे कहींकतै लिखित प्रस्ताव आएको मलाई थाहै छैन, कसरी निर्णय गरियो, म अचम्म परेको छु ।’