ad

चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पौडेल

image समाचारदाता सोमबार, जेष्ठ २१ २०८१
image
A+ A A-

प्रतिनिधिसभामा आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन बजेट माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताए । पौडेलले अर्थमन्त्री पुनले सहज बाटो नरोजेको बताए । उनले अर्थमन्त्रीले अर्थतन्त्रका चुनौतीकाबीच काम गर्ने कोसिस गरेको देखिएको बताए ।

पौडेलले अर्थमन्त्री पुनले बजेट तुलनात्मक रुपमा सन्तुलित ल्याएको बताए । उनले २० खर्बको हाराहारीमा बजेट आउने बाहिर आशंका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरू पनि सन्तुलित आकारको बजेट आएको दाबी गरेका थिए ।

अर्थमन्त्रीले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोडको बजेटको आकार तुलनात्मक रुपमा सन्तुलित रहेको पौडेलको भनाइ थियो । ‘बजेट तुलनात्मक रुपमा सन्तुलित छ । बाहिर आशंका र अनुमान गरेका थिए । अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरू पनि आएका थिए । २० खर्बको हाराहारीमा बजेट बन्छ भनेर चर्चाहरू पनि आएका थिए । अर्थमन्त्रीले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभएको छ । बजेटको आकार पनि तुलनात्मक रुपमा सन्तुलित मान्छु । बजेटको आकार अनुसार स्रोत जुटाउन सजिलो छैन । सजिलो नभए पनि यो सीमासम्म जानसकिन्छ,' पौडेलले भने, 'बजेटलाई महत्वकांक्षी भनेका छन् तर म महत्वकांक्षी भन्दिनँ उच्च आकांक्षी बजेट भन्छु । राजश्व संकलन, आन्तरिक ऋण र अन्तर्राष्ट्रिय सहयोगमा उच्च आकांक्षा राखेको छ । बजेटलाई उच्च आकांक्षी भन्दा राम्रो पदावली होला भन्ने लाग्छ । अर्थमन्त्रीले आफैँले चुनौती सिर्जना गर्ने चुनौती सामना गर्ने अठोट गरेको पाए । अर्थमन्त्रीले सहज यात्रालाई रोज्नुभएको छैन । चुनौती सिर्जना गर्ने र सामना गर्ने अठोट अर्थमन्त्रीले गर्नुभएको छ ।'

राजश्व संकलनको लक्ष्य हासिल गर्न पनि कठिन भएको पौडेलको भनाइ थियो । सरकारले राज्यका सबै संरचना प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न सम्भव रहेको पनि उनको भनाइ थियो । 'अर्थमन्त्रीले बजेटको स्रोतमा जुन प्रस्तावहरू गर्नुभएको छ त्यहाँ चुनौती सिर्जना गर्ने र पार गर्ने रहेको पाउँछु । जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षमा ११ खर्ब राजश्व संकलन होला भन्ने अनुमान गर्न सकिन्छ । तर आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गर्नुभएको छ । यो लक्ष्य सजिलो छैन । तर मेहनतका साथ राज्यका सबै संरचना संयन्त्रहरूलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न असम्भव पनि छैन,' उनले भने । वैदेशिक सहयोगको लक्ष्य हासिल गर्ने विषयमा पनि कठिन रहेको पौडेलको भनाइ थियो ।