समाचारदाता
सोमबार, जेष्ठ २१ २०८१
काठमाडौँ — नेपाल स्वास्थ्य व्यवसायी महासंघले सातै वटा प्रदेशमा आयोजना भइरहेको श्रमाधान रोजगार मेलामा स्वास्थ्य शिविर राखेको छ । शिविरमा स्वास्थ्य परीक्षण हुनुका साथै निःशुल्क औषधि वितरण भइरहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरीक रोजगार प्रवर्द्धन र सुरक्षित वैदेशिक रोजगारीको सूचना प्रवाह गर्न जेठ १७ मा कोशीबाट श्रमाधान रोजगार मेला सुरु गरेको हो । यो मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । कोशीमा भएको शिविरमा दुई सय जनाको परीक्षण भएको छ ।
यो मेला जनकपुर (जेठ १९–२०), पोखरा (जेठ २१–२२), बुटवल (जेठ २३–२४), धनगढी (जेठ २५–२६), सुर्खेत (जेठ २७–२८) र ललितपुर (जेठ २९–३०) मा हुँदै छ । महासंघका अध्यक्ष कैलाश खड्काका अनुसार डा. पर्शुराम घिमिरेको नेतृत्वमा ७ वटै प्रदेशमा चिकित्सकको टोली खटाइएको छ ।
शिविरमा महासंघका पदाधिकारी र केन्द्रीय सदस्य छन् । ‘शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण हुनुका साथै औषधि वितरण भइरहेको छ,’ अध्यक्ष खड्काले भने, ‘वैदेशिक रोजगारीका लागि गर्नुपर्ने स्वास्थ्य परीक्षणबारे पनि सूचना दिइरहेका छौं ।’